हाम्रा सन्तानले कहिले ‘ह्याप्पी चासोक तङनाम’ भन्ने ?

author-png  मिलन लिम्बू   शनिबार, ०६ भदौ, २०७७, साँझको ०६:३७ बजे

मेरो सांस्कृतिक मूल्य मान्यताले निश्चित कुनै दिन वा छेक पारेर आमा बुबाको मुख हेर्नु पर्छ भन्दैन । मैले आफ्नो मान्ने सिद्धान्तले भौतिक रूपमा गरिने कर्म र परिणामलाई सर्वोपरि मान्दछ । तर, समाज बहुरङ्गी छ । हरेक रङ्गहरूलाई स्वीकार्नु पर्छ । स्वीकार्दै आएका छौ । विडम्बना ! हामी मिलेर बनेको समाज यस्तो बन्यो जुन समाज र समाजले बनाएको व्यवस्थाले बारम्बार मेरो अस्तित्व अस्वीकार गर्छ । र, मलाई म भएर भन्दा पनि उ जस्तै भएर बाच्न बाध्य तुल्याउँछ !

हिजो म सँग असम्बन्धित कुराहरू जबरजस्ती म सँग सम्बन्धित बनाइयो । आज मेरो सन्तानलाई पनि उ सँग असम्बन्धित कुरालाई जबरजस्ती सम्बन्धित बनाउने क्रम जारी छ । हामीले बनाएको समाज र व्यवस्थाप्रति यही कुरामा घोर विमति राख्छु ।

प्रसङ्ग मेरो छोरीले मेरो मुख हेरेबाट सुरु गरौँ– बिहानै उठेर एउटा कार्ड बनाइन् । त्यो कार्ड हातमा थमाइन र भनिन्– ‘ह्याप्पी फादर्स डे’ ! म अचम्मित मात्र भइन, मेरो मथिङ्गल हल्लियो । सद्भाव मानेर भने– ‘थ्याङ्क्यु’ ! 

हिन्दु धार्मिक मान्यता अनुसार यसपालि भदौ ३ गते बुधबार कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन परेछ ! कोरोना सन्त्रासले होला यादै भएन । नढाँटी भन्दा आफूसँग असम्बन्धित भएकोले कुशे औँसीबारे मतलब नै भएन । आफ्नो कुरालाई जति महत्वकासाथ ख्याल गरिन्छ अरूसँग सम्बन्धित कुरामा कमै चासो हुन्छ । यसैलाई वास्तविकता मान्छु । मिडियामा दैनिक समाचार तयार पार्नु पर्ने भए याद हुन्थ्यो । आजकाल नियमित जागिरमा नरहेकाले त्यो पनि भएन । त्यसैले कुशे औँसी याद भएन । याद हुनु र मनाउने जाँगर चलेर आए पनि कर्म–काण्ड थाहा छैन । कर्म–काण्ड आउने भए जाँगर चलेको बेला सद्भावकै लागि भए पनि मनाइन्थ्यो सायद ! आस्था र मूल्य मान्यताभन्दा पनि सद्भाव महत्त्वपूर्ण हुन्थ्यो ।

छोरी चेसुङ ९ वर्षकी । कोरोना समस्या नभए कक्षा ४ का लागि नियमित विद्यालय जान्थिन् । तर, कक्षा ३ उत्तीर्ण गरेर पनि कक्षा ४ पढ्न पाएका छैनन् । आजकल बेरोजगार भएको फाइदा छोरीसँग घरमै समय बित्छ । विद्यालयमा उनले सिकेका धेरै कुरा नजिकबाट महसुस गर्दैछु । म हुर्केको समाज र मेरो छोरी हुर्कँदै गरेको समाज तुलना गर्ने अवसर मिलेको छ ।

मलाई याद नभएको कुशे औँसीसम्म याद गर्ने सानी छोरी यही समाजले बनायो । त्यसमा ठुलो देन, मैले महँगो शुल्क तिरेर पढाएको विद्यालयको छ । विद्यालयले मेरो छोरीलाई कुशे औँसी कण्ठस्थ गराएकोमा दुःख छैन । कुरा यति मात्र हो, मेरो छोरीलाई उसकै जाति वा समुदायबारे किन पढाइँदैन ? मलाई जस्तै मेरो छोरीलाई पनि उसको जाति र समुदायको सांस्कृतिक उपगमबारे किन जानकार बनाइँदैन ? त्यसैले त भन्छु वर्तमान समाज व्यवस्थाले मेरो अस्तित्व अस्वीकार गर्छ । मलाई म भएर होइन उ जस्तै भएर बाच्न बाध्य तुल्याउँछ । हिजो त्यस्तै थियो आज पनि उस्तै छ ।

दसैँ यही समाजको उपगम हो । तर, मेरो सांस्कृतिक मूल्य मान्यतासँग सम्बन्ध राख्दैन । म सँग असम्बन्धित नै भए पनि मलाई दशैको महिमा कण्ठस्थ छ । चासोक तङ्नाम पनि हाम्रै समाजको सांस्कृतिक उपगम हो । विडम्बना ! म सँगै हुर्केको मेरा गैह्र लिम्बू साथीलाई चासोक तङ्नामको महिमा त के कुन याममा मनाइन्छ भन्ने सम्म थाहा हुँदैन । तर, मेरो साथीको दोष होइन हाम्रो समाजको चरित्र मुख्य दोषी हो ।

हिजो म आफूलाई जुन स्थानमा पाउँथे आज मेरो छोरीलाई पनि त्यही स्थानमा पाउँदै छु । मेरो छोरीलाई तीजको महिमा राम्रो थाहा छ । हरेक तीजमा ह्याप्पी तीज भन्ने छिन् । हरेक दशै, तिहार वा हिन्दु धर्म र समुदायसँग सम्बन्धित चार्ड पर्वहरूमा यसरी नै खुसी साट्ने छिन् । फरक यति हुनेछ– मेरा साथी जस्तै छोरीका साथीलाई पनि छोरीको मौलिक पहिचान थाहा हुने छैन, मेरो छोरीको सांस्कृतिक अस्तित्व बुझ्ने छैनन् ! र, म जस्तै छोरी पनि एकोहोरो शुभकामना बाँड्ने छिन् तर उनका साथीले कहिले शुभकामना भन्ने छैनन् !

सात रङ्ग मिलेर इन्द्रेणी बन्यो । इन्द्रेणीलाई प्रतिविम्ब मान्दै इन्द्रेणी समाज भनियो । तर, त्यही इन्द्रेणी अपुरो छ भन्ने कसैलाई ख्यालै भएन ! जुन इन्द्रेणीमा कालो मात्र होइन पहिचान खुलेका धेरै रङ्गको अस्तित्व अस्वीकार छ ! दुरुस्तै हाम्रो समाज । जहाँ हजारौँ अस्तित्व अस्वीकृत छन् । त्यसमा मेरो अस्तित्व एउटा, म जस्तै हजारौँको एउटा–एउटा अस्तित्व । त्यसैले म भन्छु, समाज सप्तरङ्गी इन्द्रेणी जस्तो होइन बहुरङ्गी बनाउनु पर्छ । जुन समाजमा सबैको अस्तित्व समान सम्मानित होस् ।

हाम्रै बलिदानपूर्ण सङ्घर्षहरूले हामी नागरिकलाई नै सर्वोपरि मान्ने व्यवस्था स्थापित भयो । हामी रैतीबाट नागरिक बन्यौ । हामी सबैको अस्तित्व समान बन्यो– नागरिक । तर, यो समाजले म र म जस्तै सयौँको अस्तित्व आफ्नो बराबर मान्दैन । बहुरङ्गी समाजको अस्तित्व स्वीकार गर्दैन । जात, समुदाय वा आस्थाकै आधारमा अझै पनि मेरो समाज तह निर्धारण गर्दैैछ, विभेद गर्दैछ, बहिस्करणको नीति झन्–झन् बलियो बनाउँदैछ । र, असमानतालाई झन् संस्थागत गर्दैछ । यो काम सङ्गठित रूपमा जारी छ । जसरी विगतमा हुन्थ्यो आज पनि त्यसरी नै हुँदैछ ।

साकेलामा हजारौँ राई टुँडिखेलमा जम्मा हुन्छन् । असङ्ख्य सिली नाच्छन् । तर, यहाँका मिडियाले भिडका सुन्दरी मात्र साकेलाको सौन्दर्य मान्दछ ! सिलिका महत्त्व र किराँती सौन्दर्यबारे आजसम्म कुनै मिडियाले लेखेको भए प्रमाणका रूपमा प्रस्तुत गरे हुन्छ । दुई–चार सुन्दरीको तस्बिर छापेर यहाँका मेनस्ट्रीम झारो टार्छन् । तर, दशैको दश होइन बिससम्म दशै दुर्साउने धुन बन्छ, त्यसरी नै दशैको महिमा छापिन्छ । सदियौँ देखि देखेर पनि नदेखे झैँ गरेका कारण सबैले देखोस् भनेर डुटिखेलमा मनाइने माघी, ल्होछार र साकेलाहरु एउटा फोटो र एक क्लिप भिडियोमा टारिन्छन् । अनि कसरी म यो समाजलाई मेरो समाज मान्न सक्छु ? म जस्तै हजारौँले कसरी मेरो समाज हो भनेर गर्वले गमक्क भएर स्वीकार्न सक्छन् ? यस्ता पीडावोध हुने घटना कति हो कति !

मलाई अस्वीकार गरे पनि म मेरो समाज प्रति जिम्मेवार छु । तर, मेरो समाज भनेर गर्वले गमक्क हुन सक्दै सक्दिन । स्वर्गीय कविवर माधवप्रसाद घिमिरेले भने झैँ ज्योतिको पङ्ख उचालेर दुनियाँमा प्रकाश छर्दै गीत गाउन सक्दै सक्दिन ! जुन दिनसम्म मेरो अस्तित्व यो समाजले स्वीर्कादैन त्यो दिनसम्म यस्तै नै रहने छु । म जस्तै हजारौँ अस्वीकृत अस्तित्वहरू यस्तै रहने छन् ।

मेरो अस्तित्व स्वीकार्ने भए– जसरी मलाई तिमी र तिम्रो अस्तित्वबारे थाहा छ, त्यसरी नै म र मेरो अस्तित्वबारे तिमीलाई थाहा हुनु पर्छ । त्यो भन्दा पहिले तिम्रोबारे मलाई थाहा हुने तर मेरोबारे तिमीलाई थाहा नहुने संरचनागत विभेद अन्त्य हुनु पर्छ। जसका लागि तिम्रो र मेरो सन्तानले हामी दुवैको अस्तित्वबारे थाहा पाउनु पर्छ। अनि मेरो सन्तानले ‘ह्याप्पी दसैँ’ र तपाईँका सन्तानले ‘ह्याप्पी चासोक तङ्नाम’ भन्ने छन्। त्यो पल साँच्चिकै रोमाञ्चक हुनेछ । अनि, आनन्दको श्वास फेरिनेछ ।

August 19th, 2020 माइसंसार मा प्रकाशित ।