बौद्धिके हुलको लिम्बूवान सपना

author-png  मिलन लिम्बू   शनिबार, २७ बैशाख, २०७७, दिउँसोको ०१:३७ बजे

सामाजिक सञ्जालमा एक हुल सक्रिय छ । आफूलाई बौद्धिकजमात ठान्ने त्यो हुलको मक्सद लिम्बूवान प्राप्ति बेठिक मानिन्न । आफूलाई ‘मौलिके हुँदै बौद्धिके’ हुलमा रूपान्तरण गर्न सफल त्यो हुल संगठित संर्घषको सपना देख्छ । व्यूझँदा सपना नहराओस् भन्ने कामना ! राजनीतिक आन्दोलन कल्पनाको सयर जस्तो सरल र आनन्दमय होइन भन्ने हेक्का भए राम्रो ।

‘बौद्धिके’ हुल आफूलाई लिम्बूवान आन्दोलनका लागि अर्कै ग्रहबाट आएको ‘एलीयन’ नै ठान्छ । बौद्धिकबहस वा आन्दोलनको परिकल्पना गर्छ । अनि आफूलाई स्थापित गर्न नेतालाई कालझण्ड देखाउन टोली खटाउँछ । सोच्दैछुः एलीयनहरूको ग्रहमा पनि विरोध वा असहमति जनाउने शैली बुर्जुवा नै ! अनि आफैलाई प्रश्न गर्छुः वैचारिक आन्दोलन भनेको ढुङ्गामुढा, नाराजुलुश वा डाङडाङ–डुङडुङ ?
एउटा हुलले संगठित रूप लिएको हल्ला राम्रै चल्यो । उटपट्याङ झुण्डले वैचारिक संगठनको परिकल्पना गर्नु सकारात्मक नै ठिक । वैचारिक संर्घषको गफ नै सहि । तर, बौद्धिके हुलको पहिलो एक्सनले पुष्टि गर्‍यो एलीयनहरू पनि वुर्जुवा !

बौद्धिके हुलमा एक मित्र छन् जो ताक परे तोङ्बाबाटै दिनको सुरुवात गर्छन् । त्यो उनको व्यक्तिगत आचारण नै ठिक । उनै मित्र सम्मिलित एउटा टोली धनकुटाको राजारानी पुग्छ । जहाँ किरात याक्थुङ चुम्लुङको परिषद बैठक । प्रमुख अतिथिः मन्त्री इन्द्र आङ्बो । राजनीतिक परिस्थितिले लिम्बूवानभन्दा किरात शब्दमा बढि सहमति जुट्ने उनको तर्क बौद्धिके हुलका लागि लिम्बूवान विरोधी बन्नु गज्जब नै हो ! हुलको नजरमा चुम्लुङ पनि लिम्बूवान विरोधी कित्तामै ! बैचारिक वहसको झ्याली पिटेर त्यो हुल मन्त्री आङ्बोविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाउन त्यहाँ पुग्यो । त्यतिखेरै हो थाहा भएको, एलीयन लोकमा पनि वुर्जुवा रैछन् !

एलीयन लोकका दुईचार बुर्जुवा मन्त्रीविरुद्ध नाराबाजीमा थिए । सुरक्षा संयन्त्रको पुरानै रवाफ सहि, सबै मामाघर कोचिए । अनि संजाल रंगियो । विनासर्त रिहाको गर र चुम्लुङ मुर्दावादको नारा अनि बौद्धिकेहरूको नाङ्गो नाच । ट्रम्पलोकमा रमिरहेका वौद्धिके हुलका वरिष्ठ नेताबाट निर्देशनात्मक आदेश जारी भयोः चुम्लुङको प्रत्येक कार्यालयहरूमा आगो लगाओ ! त्यस्तो आदेश दिने बौद्धिके नेताको मष्तिष्कमा के भरिएको होला ? आजसम्म यो प्रश्नको जवाफ पाउन सकेको छैन ? गफ बौद्धिक आन्दोलनको गर्ने अनि चुम्लुङको कार्यालय जलाउन आदेश दिने ? यो कस्तो बौद्धिकता ?
चुम्लुङ र चुम्लुङका नेतृत्वले किरात शब्दमा असहमति नजनाउँदैमा लिम्बूवान हुनुहुँदैन भनेर न कहिले बोलेका छन् न कहिले लेखेका छन् । तर, बौद्धिके हुलका लागि चुम्लुङ र नेतृत्व नै लिम्बूवान विरोधी भए । राजारानी उट्पट्याङ लगतै बौद्धिके हुलका नेताबाट अक्षम्य र चेतानाहिन हर्कत भयो ।

लिम्बूवान आन्दोलनहुँदै काठ तस्करीसम्ममा योगदान पुर्‍याइसकेका ति बौद्धिक व्यक्तिद्धारा चुम्लुङ अध्यक्षलाई जिउँदै श्रद्धाञ्जली अर्पण गर्ने हर्कत भयो ! यो चेतनाहिन हर्कतपछि मेरो मनमा उब्जीएको प्रश्नले अझै जवाफ पाएको छैन । ति बौद्धिक व्यक्तिको मष्तिष्क कुन तत्वले बनेको छ ?

बौद्धिके हुलको मुल नाइके अनन्य मित्र हुन् । राजारानी उट्पट्याङपछि मित्रसँग टेलिफोन संवाद भयो । के गरेको यस्तो ? मेरो प्रश्न थियो । बौद्धिकर वैचारिक आन्दोलन सुरु गरेको त्यसका लागि प्रचार चाहिएको थियो । त्यसैले मन्त्रीलाई कालो झण्डा देखाएको ! बौद्धिकर वैचारिक भनिएको आन्दोलनका नाइके मित्रको जवाफको प्रतिफल मथिङ्गलले राम्रै कम्पन झेल्यो । फेरि सोधे: कति मान्छे सहभागी थिए ?

‘यो पल्ट दुई सयजतिको सहभागिता आंकलन थियो । बीसजना जति सहभागी भए अर्को पल्ट भन्न सकिन्न ।’

राजारानी उट्पट्याङ पछिका देवत्व र दानवीकरणको परिघटनाले अहिलेसम्मका लिम्बूवान आन्दोलन र आन्दोलनको चरित्र मथिङ्गलमा फानफनी घुम्यो ।

भावनाकै कुरा गरेर लिम्बूवान आउने भए उहिल्यै लिम्बूवान राज्य बन्थ्यो । फेसबुकमा लेखेकै भरमा लिम्बूवान राज्य प्राप्त हुने भए लिम्बूवान राज्यमा धेरै मन्त्री, मुख्यमन्त्री बनिसक्थे । नाराजुलुस गरेरै हुने भए अहिलेसम्म भएका सबै लिम्बूवानी आन्दोलन बौद्धिकर वैचारिक हुन्थे । दुई–चार जनाको हावादारी गफले लिम्बूवान राज्य बन्ने भए वीर नेम्बाङहुँदै कुमार लिङ्देनसम्मले नेतृत्व गरेको लिम्बूवानी आन्दोलनको अर्थ हुने नै थिएन । प्रहरीको अगाडी नाराजुलुस लगाउँदैमा लिम्बूवान आउने भए माङतोक–मनिललाई लिम्बूवान आन्दोलनमा रक्तरञ्जीत गौरवपूर्ण बलिदानको इतिहास लेख्ने अवसर मिल्ने थिएन ।

फेसबुकमा एकअर्कालाई गिज्याउँदा गिज्याउँदै एक भएका हुल आफूलाई बौद्धिक जमातको रूपमा रूपमा स्थापित गर्न खोजिरहेको भन्नेम दुईमत छैन । तर, उनीहरूले नबुझेको कुराः सामाजिक सञ्जालमा दुई/चारको लाइक वा कमेन्ट र वास्तविक धरातल धेरै फरक हुन । कुनै विचार वा भावना सम्मिलित फेसबुक स्टाटसमा लाइक गर्नु र त्यो विचार वा भावना कार्यन्वयनका लागि सँगै मैदान उत्रनु धेरै फरक हुन । कुनै मुद्दासँग सहमत भएर त्यसको पक्षपोषण गर्नुमा कुनै आपत्ति वा गुनासो छैन । तर, फेसबुकमा पाएको लाइक र कमेन्टकै भरमा नेता बन्न नखोजेकै राम्रो ।

आफूलाई स्थापित गर्ने हो भने फरक पहिचान चाहिन्छ । बुर्जुवा शैलीमै कसैलाई चेतनाहिन गाली गरेर, अरुले गरेको आन्दोलनको सिको गरेर, आफूलाई राम्रो देखाउन अरूलाई नराम्रो भनेर नेता बन्ने वा वैचारिक वहसको अगुवा बन्ने स्वप्न सयर नगरेकै राम्रो । विवेकपूर्ण बौद्धिकचेतना भए अरुको उक्साहटमा लागेर कसैलाई देवाता वा कसैलाई दानव सावित गराउन रचित योजनाका लागि उद्धेलित नभएकै राम्रो । आगे, बौद्धिके हुललाई काङ्सोरे हुँदै माङतोक–मनिलको सराप मात्र होइन आर्शिवाद पनि मिलोस शुभकामना !

 शनिबार, चैत्र १६, २०७५  गते सेवाराे साप्ताहिक तथा नयाँ अनलाइन डटकममा प्रकाशित