लिम्बू समुदाय र वर्तमान अवस्था

author-png  मिलन लिम्बू   शनिबार, २७ बैशाख, २०७७, दिउँसोको १२:२९ बजे

आफ्नै कुरा गरौं । यसको मतलव लिम्बू समुदायकै । थोरै जनसंख्या तर अनेक चरित्र । तीनै चरित्रको कुरा व्याख्या आवश्यक छ ।

धेरै लिम्बू परदेश, थोरै लिम्बू गाउँ अनि चाकनचुकुन शहर बसोबास । आ–आफ्नै लय । गाउँ जाउँ, जोती खाने जाँगर छैन । विदेश जाउँ पसिना बगाउँने ल्याकत छैन । गाउँमा नअटेका परदेशले नपत्याएका हामी थुप्रै थाङ्बेन शहरमा रम्दैछौं । अपवादबाहेक ! सानमान र रवाफमै जिउनेको कुरै नगारौं । जो जसको आ–आफ्नै सुतिखेती ठिक । शहरमा अल्झेका थाङ्बेनलाई सजिलो त पक्कै छैन ! समुदाय नै थेग्नुको पीडा कसले बुझ्ने ?

थेग्नुको अर्थ अनेक । कहाँ कसरी थेग्ने थाङबेनकै मर्जी । केहि थाङ्बेन कसैको घरबार थेग्नमै व्यवस्त होलान् तर धेरै सामाजिक सञ्जालमार्फत समुदाय अनि देश पनि थेग्दैछन् । संजाल भएरै त थाङ्बेनले आफ्नो अस्तित्व थेगेका छन् । आफुलाई थाङ्बेनको रूपमा प्रमाणित गरेका छन् ! केहि थाङ्बेन विश्वविद्यालयका मेडालिष्ट, कोहि संसारकै ठूला साहित्यकार, केहि मुन्धुमका आविस्कारक, केहि समाज भाड्ने वुद्धिजीवि ! कोही, कलाकार पत्रकार । यी यस्तै धेरै थाङ्बेनको आ–आफ्नै अभिभारा ।
माष्टर थाङ्बेनले पढाउन छोडेर संजालमा नारदको भूमिका थेग्नु छ । मुन्धुमका आविश्कारकले संजालमामार्फत धार्मिक विभाजनको जिम्मेवारी थेग्नु छ । वुद्धिजिविको पगरी गुथेकाले समाज विभाजनको जिम्मेवारी पुरा गर्नुछ । मेडलिष्टहरूको आफ्नै पीडा । आडम्बरी झुण्डको नेतृत्व नगरी आनन्द मिल्दैन । अरुलाई स्वाँठ दर्ज गर्ने भूमिका नथेगे कसरी मेडालिष्ट ?

थाङ्बेनहरूको उपस्थिति जताततै । कला–सहित्य थेग्नेको पीडा उस्तै । कसैले कुकुर बिरालो सबै थेग्नुछ । कसैले गानाबजाना मात्र होइन परदेशी दाजुको घरबार पनि थेगिदिनुछ । यसरी सम्झदा थाङ्बेनको पीडा कहिनसक्नु ! परिस्थिति यस्तो देखियो सबै थाङ्बेन विज्ञ नै पो भइसकेछन् !
मुन्धुम पढ्यो मुन्धुम विज्ञ, धर्म बुझ्यो धर्म विज्ञ या धर्मगुरु, आधुनिक गीत गायो लिम्बू गायक, म्युजिक भिडियो खेल्यो लिम्बू समुदायकै खत्रा हिरो, हिन्दु मिथकमा फिल्म बनायो लिम्बू फिल्मको पगरी भिर्यो, केहि कुरा बुझ्यो उच्च कोटिको वुद्धिजीवि, चोरचार गरेर केहि नयाँजस्तो देखायो मौलिकता खोज्ने खोजकर्ताको पगरी भि-यो, अरु कसैले लेखेको इतिहास हुबहु सारेर नयाँ किताबको नाम जुरायो नामको अगाडि खोज अनुसन्धानकर्ता थपिहाल्यो ! यस्ता थुप्रै अभिभारा थेग्दैछन् थाङ्बेन ।

स्वभाघोषित विज्ञ थाङ्बेनको झुण्डले सिरिजंगाको आविस्कारमा स्वार्थ देखे, इमानसिंह चेम्जोङको खोजमा खोट भेटाए अनि फाल्गुनन्दको योगदानमा विमति जनाए । सिरिजंगाले लिपि आविस्कार नगरेको भए अहिले पनि लिम्बू लिपिका लागि भौतारिनुको विकल्प थिएन भनेर किन नबुझेको ? इमानसिंहले इतिहास नलेखेको नखोजेको भए यो समय म को हुँ ? भनेर हरेक लिम्बूले आफैलाई प्रश्न गर्नुको विकल्प थिएन भनेर बुझ्ने सत्बुद्धि किन नपलाएको ? फाल्गुनन्दले समाज सुधारको नाममा सांस्कृतिक सुधारको अभियान नचलाएको भए आज पनि लिम्बू समुदायले सांस्कृतिक भ्रष्टिकरणको मार खेप्नुपर्ने थियो भनेर उनको योगदानको कदर गर्न किन नसकेको ? उनै महान व्यक्तिहरूको योगदानमै स्वार्थ वा खोट देख्ने विज्ञ थाङ्बेनहरू समुदायलाई कुन गन्तब्यमा लैजान खोज्दै छन् ?
हाक्पारेको लय रेट्दैमा गिटार कसरी लिम्बूको बाजा ? पालामको लय थिचेकै भरमा हारमुनियम लिम्बूको बाजा कसरी भन्ने ? आधुनिक गीतलाई लिम्बू भाषामा रेकर्ड गर्दैमा लिम्बू गीत कसरी मान्ने ? यत्ति पनि नबुझ्ने हुन विज्ञ थाङ्बेन ! राज्यले लिम्बू भाषा नै मासिसकेको बेला पाठशाला खोलेर लिम्बू भाषा पढाएको, युवा पंक्तिले संस्कार भूलिसकेको बेला माङसेबुङले संस्कारिक विधि सिकाएको विज्ञ थाङ्बेनले किन स्वीकार नगर्ने ? अनि परम्परामा भ्रष्टिकरण भएको बिषयमा प्रश्न गर्दा माङसेबुङले किन प्रहार ठान्ने ?

मेलाबजारमा थाङ्बेनहरूले फनफनी खुकुरी घुमाएको मेन्छ्याहरूको आँखामा झलझली छ । बहुचर्चित फाइटर अनि दारासिंहहरूको राजकाज कम्तिमा वर्तमान पुस्ता छदैं दन्त्यकथा बन्दैन । हाराहाङहरू खुकुरी छोडेर पेस्तोलले शासन गर्दै होलान् । केही थाङ्बेन आफुलाई बुद्धिजिवि पंक्तिमा उभ्याउ सामाजिक संजालमा शब्द नचाउन खोज्दै होलान् । तर, खानदानी स्वभाव नझल्के के लिम्बू ? खुकुरीले काटे मान्छे मर्थे शब्दले चिर्दै आन्तरिक एकता मार्दैछन् आजकालका थाङ्बेन !

खुकुरी त्यागेर शब्दलाई हतियारको रूपमा थाङ्बेनहरूले प्रयोग गरेको देखेर मेन्छ्या स्वभाविक खुशी थिए । समुदाय आशावादी बन्दै थियो । त्यति नै बेला मेन्छ्यायेमको भर्जिनिटीमा प्रश्न उठ्यो । केहीले भर्जिनिटी तोडिएको आरोप लगाए केहिले श्रृङ्गार गरेको भनिदिए । केहि दिनसम्म शब्दले नै काम गर्यो तर धेरै दिन टिकेन । अन्ततः पवित्र मेन्छ्यायेमको नाममा थाङ्बेनहरूले आफ्नो बहादुरी देखाए !
कसले के ग¥यो चिन्ताको बिषय होइन । तर, किन लिम्बू समुदायमा भावनात्मक एकता तोडिदैछ भन्ने प्रश्नको जवाफ पक्कै खोजिनुपर्छ । वर्षौदेखि आर्दशको थलो मान्दै आएको मेन्छ्यायेम र माङ्सेबुङको नाममा किन विभाजित हुने ? धर्म निरपेक्षताको पक्षमा बलिदानीपूर्ण योगदान गरेको लिम्बू समुदाय किन धर्मकै नाममा विभाजित हुने ? किन किरात या युमा धर्मको नाममा विभाजित हुने ? आफुलाई जे कुरामा विश्वास छ त्यसैलाई आस्था माने बिग्रने के ? आस्था स्वतन्त्रतामा निहित हुन्छ भन्ने थाङ्बेनहरूले किन नबुझ्ने ? थाङ्बेनहरूले लिम्बूको धर्म हुन्छ कि हुँदैन ? भनेर किन नखोज्ने ?

लिम्बू समुदायको मौतिकता के ? यस बिषयमा बहस गर्न आवश्यक छ । तर, मेन्छ्यायेम कोक्मामा जस्तै ‘वुद्धिभन्दा बल ठूलो’ भन्दै उल्टो बहने मानसिकताले कहाँ पुग्ने ? मौलिकताको खोजि भन्दैमा छोरीचेली बेचिखाने र सुधार भन्दैमा शंखघण्टी बजाएर गलतबाटो किन रोज्ने ? गिटारमा हाक्पारेको लय रेटेर मौलिक लिम्बू भाकाको भ्रम किन छर्ने ? ठ्याक्कै शेर्पा महिलाको पोशाकलाई नक्कल गर्दै ‘मेख्ली’ अनि दाउरा सुरुवाल नक्कल गर्दै ‘तागा’ भनरे किन आफ्नोपनको धाक पिट्ने ?