कविता – बाटो हरायो

author-png  मिलन लिम्बू   मङ्गलबार, ०९ असार, २०७७, रातीको ११:११ बजे

मेरो बाटो हरायो
बाटो मात्र होइन
मेरा पुर्खाको सम्झना नै हरायो
नबुझिने अक्षरमा लेखिएको सुथेबाको नाम हरायो

मधुरो सपना जस्तै कोरिएको सुयुमाको नक्सा हरायो
भारी बोकी उकालो चढ्दा बिसाउने फलैँचा हरायो
यस्तो भयो-
बाटो हराउँदा फलैँचा हरायो
फलैँचा हराउँदा मेरो पुर्खाको नाम निशाना हरायो !
०००
घर्लेभीर वारि पावा गाउँ
मेरा पुर्खाको पसिनाले लपक्क भिजेको भूमि
आज आफ्नै पुर्खाको भूमि जाने बाटो हरायो !

बताहा पहिरोको सिरानमा चिहानडाँडा
पुर्खाको चोला ढुंगा-माटो बनेपछि बन्यो
मेरा लागि थेबा-युमाको झल्को मेट्ने ठाउँ
थेबा-युमाको याद आउँदा चिहानडाँडा पुग्थे
विडम्बना !
आज चिहानडाँडा जाने बाटै हरायो !
०००
सेङ्घा जाने बाटो
बाङ्गो टिङ्गो उकालो ओरालो
जस्तै भए पनि बाटो आँखैमा छ
चिहानडाँडामुनि मने कामीको घर कटेर ओरालो लागेपछि
पुर्खाले आवाद गरेको सेङ्घा पुग्ने बाटो देखिन्छ
मंसिरमा सेङ्घाले नील गगनलाई पहेँलपुर बनाउँछ
नाराङस्याङलो आदाङ्बे
पुर्खाको प्राण धान्ने अन्न भण्डार सेङ्घा झर्ने बाटै हरायो !
०००
हराउँदा हराउँदै सबथोक हरायो
कालो बोका चढाएर पूजा गर्ने माङयुक्ना हरायो
माङयुक्नासँगै औधी चिसो र मीठो पानीको मूल हरायो
मुख्य कुरा त माङयुक्ना जाने बाटै हरायो !
हराउँदा हराउँदा वन पनि बाँकी रहेन
थेबा-युमाले युगौँअघि आवाद गरेको पात्ले वन हरायो
गोठालो गर्दा पुर्खाले गाएको भाका हरायो
प्रकृतिको सुन्दर काख हरायो
खास कुरा त वनसम्म पुग्ने बाटै हरायो !
०००
सोच्दासोच्दै वर्षौ बित्यो
बल्ल पत्तो लाग्दै छ- बाटो किन हरायो ?
बल्ल पो थाहा भयो-
बाटो आएपछि, बाटो हरायो
बाटोसँगै मेरो पुर्खाको माटो हरायो
पुर्खाको माटो नै हराएपछि म त्यसै हराएँ !

लिम्बू-नेपाली
सुयुमा- जुजुबोजु
सुथेवा- जुजुबाजे
थेवा-युमा- बाजे-बोजु
माङयुक्ना- देवीथान
सेङ्घा- बेँसी
नाराङस्याङ- नसक्ने भएँ है
आदाङ्बे- मैले मान्ने व्यक्तित्व

 

 शनिबार, जेठ २४, २०७७  का दिन शिलापत्र डट कममा प्रकाशित