रोल्पालीले भने – हाम्रो रगतमा आज नेताहरु मस्ति गरिरहेका छन्

author-png  मिलन लिम्बू   बिहिबार, ०१ जेठ, २०७७, साँझको ०५:५४ बजे

प्रचण्ड यो साता एक्कासी रोल्पा पुगे। रोल्पा अर्थात् १० वर्षीय विद्रोहको उद्गम थलो। समाचार संकलनका लागि म पनि त्यता जान पाएँ। चार दिनको यात्रापछि मैले अनुभव गरेँ, रोल्पा आफै माओवादी उपेक्षामा पर्दै गएको छ। कार्यकर्ताको अनुहार मलीन छ। हाम्रो रगतमा नेताहरुले मस्ती गरिरहेका छन् अहिले भन्छन् उनीहरु। के के देखियो यात्रामा?

दाङको घोराहीबाट उकालो लागेपछि करिब ३ घण्टाको यात्राबाट रोल्पाको होलेरी पुगियो। होलेरीका माओवादी नेता तथा कार्यकर्ता फुलमाला लिएर प्रचण्डलाई स्वागत गर्न आतुर थिए। प्रचण्ड गाडीबाट ओर्ले लगत्तै नारा घन्कियो-

कमरेड प्रचण्ड लाल सलाम!

होलेरी त्यस्तो ठाउँ हो जहाँ माओवादी जनयुद्धको पहिलो कारवाही भएको थियो। २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्दा माओवादीका वर्तमान सचिव तथा त्यस समयका जनमुक्ति सेना कमाण्डर वर्षमान पुन अनन्तको नेतृत्वमा पहिलो नेपाल प्रहरीविरुद्ध लडाइँ भएको। र, जनयुद्धको अन्तिम लडाइ पनि होलेरीमै भएको थियो।

दोस्रो दिनको यात्रा : कार्यकर्ताको अनुहार मलीन
दोस्रो दिन बिहानै महासचिव महरासंगै नजिकको विद्यालय पुगियो। महासचिव महराले विगत स्मरण गराउने प्रयत्न गरे। नजिकै माओवादी नेता कार्यकर्ता भेला भएका थिए। नेता कार्यकर्तालाई अध्यक्ष प्रचण्डले छोटो प्रशिक्षण दिए।

यसो कार्यकर्ताहरुको अनुहार हेरेँ। मलिन देखेँ। म पार्टीको (डब्लुटी) होलटाइमर भएर हिँडेको समयमा सहायोद्धाहरुको अनुहारमा देखेको चमक रोल्पाका वर्तमान कार्यकर्तामा देखिनँ।

मनमनै विचार गरेँ, नेता बिग्रिए, संविधान बनेको छैन, पार्टी फुट्यो, सपना अधुरै रह्यो। हो, मैले त्यही अनुभूत गरेँ।

हाम्रो रगतमा नेताको मस्ती
बिस्तारै यात्रा तिलातर्फ लाग्यो। गैरीगाउँको तिला जनयुद्धको समयमा निक्कै चर्चित थियो। त्यस समयमा तिलाका धेरै सहिद भएका थिए। तिलामा त्यो समयमा ठूलो सहिद गेट बनेको चर्चा चल्थ्यो। तिलामा सहिद गेट खोजेँ भेटिन, नमज्जा लाग्यो।

स्थानीयलाई सोधेँ, सडक बनाउने क्रममा भत्कियो, उनीहरुको उत्तर थियो। माओवादी जनयुद्ध र त्यसपछिका राजनीतिक परिघटनाबारे केही स्थानीयवासीसँग भलाकुसारी गरेँ। उनीहरुले माओवादीसँग दुखेसो पोखे। निक्कै हृदयविदारक कथन सुनाए। सर्वहारा वर्गको मुक्तिका लागि हामीले प्रत्येक घरबाट सहिदको रुपमा बलिदानी दियौँ। आज हाम्रो रगतमा हाम्रा नेतृत्व मस्ति गरिरहेका छन्।

वास्तविकता त्यस्तै त्यस्तै छ।

निक्कै लामो यात्रा पछि माओवादी अध्यक्ष प्रचण्डको तत्कालीन हेडक्वार्टर राङ्सीको डाँडागाउँ पुगियो। प्रचण्ड विगत सम्झँदै आफू बसेको घर छिरे। विगत स्मरण गरे। तत्कालीन समयमा बनाइएका बंकरहरु अवलोकन गरे। आफ्न नेता तथा कार्यकर्ता र आफु बसेको घरधनीसँग तस्वीर खिचेर प्रचण्ड तत्कालिन जनमुक्ति सेनाका डेपुटी कमाण्डर नन्दकिसोर पुन पासाङको घरमा बास बस्न फकिए। त्यो दिनको बास पासाङको घरमा भयो।

डाँडागाउँमा सीतालाई दाल
प्रचण्डको यो यात्रामा श्रीमति सीता दाहाल पनि थिइन। प्रचण्डसँगै हिडिरहेकी सीता पनि प्रचण्डको पुरानो हेडक्वार्टर रहेको डाँडागाउँ पुगेकी थिइन्। प्रचण्ड आफ्नै धूनमा थिए। सीता आफ्नै तालमा थिइन्। यात्रामा रहेका अन्य नेता कार्यकर्ता र पत्रकार पनि प्रचण्डको विगत नियालीरहेका थिए। सीता दाहाल र प्रचण्डको पुरनो हेटक्वार्ट रहेको घरकीमूली करिब ७० वर्ष उमेरकी आमासँग सीता दाहाल कुराकानी गर्दै थिइन्।

ति आमाले कुराकानीकै क्रममा छोरी यो काठमाडौ लगेर खानू है भनेर एक झोला सीतालाई थमाइन्। हामी कति मिलेर बसेका थियौँ चटक्कैमा माया मारेर गयौ नानी भनेर ती आमाले सीतालाई विगत स्मरण गराइन्। ती आमाको आँखामा आँसु बगिसकेको थियो।

सीताले असहज मान्दै झोला थापिन्।

अनि मैले विगत सम्झेँ। नेताहरुले भनेको सुनेको थिएँ वर्गीय नाता सबैभन्दा ठूलो नाता! ती आमाले झोलामा अलिकति दिएको रोल्पालीको दालको मूल्य थोरै होला तर, वर्गीय नाता ठूलो सम्झे। सीताले के सम्झिइन् थाहा भएन।

तेस्रो दिनको यात्रा :
दोस्रो दिनको विश्राम पासाङको घरमा मगराती सम्मानका साथ सम्पन्न भयो। भोलिपल्ट बिहानै पासाङको घरबाट तेस्रो दिनको यात्रा सुरु भयो। अबको गन्तब्य राङ्सीकै पोखराचौर पुगेर रोल्पा सदरमुकाम नजिकै माडीचौरसम्मको थियो। यात्रा पोखराचौरतिर सोझियो।

केही घण्टाको मोटर यात्रापछि पोखराचौर पुगियो। पोखराचौरमा उही पाराले प्रचण्डको स्वागत भयो। ठूलाठूला डाँडाहरुको बीचमा निक्कै राम्रो समथल भूभाग गरेको पोखरा चौरमा सयौँ सर्वसाधारण जम्मा भए।

रोल्पाका ढुङ्गा माटो सबै माओवादी हुन्छन् भन्ने हाम्रो बुझाई थियो। पोखराचौर पुग्दा त्यस्तै अनुभूत भयो।

पोखराचौरको कार्यक्रमपछि हाम्रो यात्रा माडीचौर तर्फ लाग्यो। निक्कै लामो समयको मोटर यात्रा पछि झपक्क रात परिसकेको बेला माडीचौर पुगियो। प्रचण्डलाई त्यहाँ पनि उस्तै स्वागत थियो। त्यो दिनको बास त्यही भयो।

कांग्रेस सबै माओवादी
पोखराचौर हुँदै माडीचौरसम्मका लागि लामो यात्राका क्रममा अघिल्लो सिटमा बसेको माओवादी महासचिव महराले माओवादी जनयुद्धका बिगत सुनाइरहेको थिए। माडीचौर पुग्ने बेला त्यहाँको भूगोल देखाउँदै महरा यो कांग्रेसको इलाका हो, यहाँका सबै कांग्रेस छन् भनिरहेका थिए।

अलिकति अगाडि सयौको संख्यामा माओवादी कार्यकर्ता हातमा फूलमाला लिएर बसेका थिए। गाडी रोकेर अध्यक्ष प्रचण्डसहित महरा लगायतलाई गलाभरी माला लगाइदिए। अनि, गाडीमा चढेर उनले भनेः सबै कांग्रेस भनेको सबै माओवादी भएछन्।

मनमनै प्रश्न गरेँ, माओवादी किन कमजोर भयो? मनमनै उत्तर दिएँ आफ्नै कारणले। आफ्ना समर्थक र कार्यकर्ता कहाँ छन् भन्ने थाहा नपाउँदा माओवादीको यस्तो हालत भयो।

प्रचण्डलाई फोन
रोल्पाका धेरै गाविसहरु विकट छन्। मोबाइलमा नेटवर्क आवश्यक परेको बेला हुन्न। त्यसैले आवश्यक परेको बेला मोबाइल सम्बाद असहज थियो। तर, केही सुविधायुक्त माडीचौर पुगेपछि सबैको मोबाइलको घण्टी बज्न थाल्यो। त्यही क्रममा प्रचण्डको मोबाइलमा घण्टी पनि बज्यो। काठमाडौँबाट प्रधानमन्त्री र सभामुखले चाँडै काठमाडौँ फर्कन आग्रह गरेका रहेछन्।

प्रधानमन्त्री र सभामुखको आग्रहपछि प्रचण्डले यात्रा एक दिन छोट्याए। माओवादी नेता कार्यकर्ताहरु कुरा गर्दै थिए, नेपाली राजनीतिमा अध्यक्षको भूमिका बलियो छ।

चौथो दिनको यात्रा
चौथो दिन बिहानै माडीचौरमा आयोजित सभालाई प्रचण्डले सम्बोधन गरेर पूर्व अर्थमन्त्री तथा एकीकृत माओवादीका सचिव वर्षमान पुनको घरमा खाना खाएपछि ९ किलोमिटर माथी रोल्पा सदरमुकाम लिवाङ उक्लियौँ।

लिवाङमा आयोजित सभालाई सम्बोधन गरेर हतारमा प्रचण्ड भैरहवा विमानस्थल लागे। प्रचण्डको रोल्पा यात्रा यतिमै टुङ्गियो।

रोल्पामा विकास र मेरो बुझाई
मेरो मानचित्रमा सजिएको रोल्पा धेरै विकट जिल्ला हो। राज्यको सम्बोधन पनि विकट जिल्ला नै हो। काठमाडौबाट रोल्पाको यात्रा सुरु गर्दा रोल्पा विकट नै थियो। तर, दाङको घोराहीबाट उकालो लागेपछिको सहिद मार्ग हेर्दा रोल्पामा पछिल्लो सयम निक्कै विकास भएको छ।

घोराहीदेखि लिवाङसम्मको सडकलाई सहिद मार्ग भनिन्छ। यो मार्गको लम्बाइ ९० किलोमिटर भन्दा बढी छ। सहिद मार्गको ९० किलोमिटर दुरीका कुनै पनि बाटो साँघुरो छैन। सबै बाटो फराकिला छन्।

रोल्पाका दुर्गम क्षेत्रहरुमा समेत मोटर बाटो खनिएको छ। अधिकांस क्षेत्रमा मोटर पुग्छ।

त्यस क्षेत्रको माटो हेरेर त्यही क्षेत्रका नेतालाई सोधे, कहिले बनेको बाटो हुन्?

माओवादी महासचिव महराले भने जनयुद्धको समयमा आम जनताले जब बाटो खन्यो तब रोल्पामा सडक विकासको बाटो खुल्यो। चित्त बुझेन। त्यहाँका जनतालाई सोधेँ कहिले कसले बाटो बनायो? जनताले भने माओवादीले बाटो खनेपछि रोल्पामा मोटर गुडेको हो। त्यो भन्दा अगाडि केही थिएन।

रोल्पामा एकीकृत माओवादीको धेरै शक्तिशाली नेताहरु छन्। महासचिव, कृष्णबहादुर महरा, सचिव वर्षमान पुन, माओवादी नेता नन्दकिशोर पुन, वर्तमान संविधानसभाका उपाध्यक्ष ओन्सरी घर्ती र नेकपा–माओवादीका नेता नेत्रविक्रम चन्द्र समेत रोल्पाकै नेता हुन्।

यी नेताले कुनै न कुनै प्रकृयाबाट बाटो बिजुली रोल्पा छिराएका रहेछन्। सहिदमार्गका केही भूभाग कालोपत्रे हुने तयारी समेत भइरहेको छ।

रोल्पामा राजनीतिक अवस्था र माओवादी
रोल्पाले देश नै हल्लायो। देशलाई परिवर्तन गरायो। तर, राजनीतिक रुपमा परिवर्तन भएका रोल्पाका जनताको जीवनस्तर अझै परिर्वतन हुन सकेको छैन। रोल्पाले जन्माएका नेताहरु देशका मन्त्री प्रधानमन्त्री बनिसकेका छन्। तर, जनताको हालत उस्तै छ। माओवादी रोल्पामा कमजोर बन्दै गएको छ।

रोल्पाका धेरै माओवादी नेता तथा कार्यकर्ता जीविकोपार्जनका लागि विदेशीएका छन्। माओवादीले आफ्नै आधार इलाका भूल्दै गएको छ। वर्षमा एक पटक पुग्न सक्दैनन् माओवादी नेता। मेरो अन्तिम निस्कर्ष रोल्पा आफै माओवादी उपेक्षामा पर्दै गएको छ।