काठमाडाैंका नेवारले ठूलो मूल्य चुकाएको २२३ वर्षअघिकाे महामारी

author-png  मिलन लिम्बू   शनिबार, २७ बैशाख, २०७७, दिउँसोको ०३:५४ बजे

– सुदीप श्रेष्ठ

कोरोना भाइरस महामारी बेला म तपाईंहरूलाई आजभन्दा २२३ वर्षअघि काठमाडौं उपत्यकामा फैलिएको यस्तो महामारी कथा सुनाउँदैछु, जसको ठूलो मूल्य चुकाउनुपरेको थियो यहाँका नेवारहरूले।

उक्त महामारीका कारण तत्कालीन शासकले काठमाडौंका नेवार परिवारलाई ठूलो संख्यामा चार भञ्ज्याङ कटाएका थिए। खासगरी नाबालक बालबच्चा भएका परिवारलाई पूर्वमा तामाकोशी र पश्चिममा मर्स्याङ्दीपारि खेदिएको थियो।

पूर्वतिर लागेका नेवार भोजपुर, चैनपुर र धनकुटा तथा पश्चिम लागेकाहरू गोरखा, लमजुङ, तनहुँ र कास्कीसम्म पुगेको इतिहासकार बताउँछन्।

त्यति बेला रणबहादुर शाहको शासन थियो। इतिहासकारहरूले उनलाई सन्की, हठी, दुर्बल र रसिक राजाका रूपमा चित्रण गरेका छन्।

बाबुराम आचार्यले उनको व्यक्तित्व वर्णन गर्दै ‘नेपालको संक्षिप्त वृत्तान्त’ मा लेखेका छन्– ‘यिनी हँसमुख स्वभावका थिए। स्वर पनि मिठो थियो। सितार बजाउनमा सिद्धहस्त थिए। जीउडाल पातलो थियो। स्वास्थ्य प्रायः कमजोर रहन्थ्यो। यिनी बराबर बिरामी पर्थे। घोडा चढ्न डराउँथे र प्रायः मानिसका पिठ्यूँमा सवार भई यताउति घुमफिर गर्थे।’

पशुपन्छी पाल्न यिनलाई विशेष सोख थियो। न्यूरोडमा जहाँ अचेल नेपाल बैंकको प्रधान कार्यालय छ, त्यहाँ रणबहादुरको पालामा ठूलो पशुशाला थियो। गाई, घोडा, मृग, भेडा, बाख्रा, भैंसी, बँदेल, हाँस, कुखुरा लगायत विभिन्न पशुपन्छी पालिएका थिए, आचार्य वर्णन गर्छन्, ‘साँढे जुधाउनमा नवयुवक राजा रणबहादुर शाहलाई ठूलो सोख थियो।’

एकचोटि पशुपतिनाथ दर्शन गर्न मिथिलातिरको एउटा ब्राह्मण परिवार काठमाडौं आएको थियो। ‘कान्तवती’ नामकी छोरी सँगै थिइन्। नवयौवना रुपवती ती विधवा ब्राह्मणीलाई देखेर नवयुवक रणबहादुर मोहित भएछन्।

लंकाका राजा रावणले मिथिलाकी सीता हरण गरेजस्तै रणबहादुरले पनि मिथिलाकी विधवा ब्राह्मणी कान्तवतीलाई बलपूर्वक आफ्नो राजभवनमा लगे। विवाहको प्रस्ताव राखे।

कान्तवती मानिनन्।

‘म पतिव्रता विधवा ब्राह्मणी हुँ, पुनर्विवाह गर्नु अधर्म हुन्छ,’ उनी यसै भन्दै लगभग छ महिना अडिएर बसिन्।

आखिरमा उनको केही जोड चलेन। रणबहादुरको हठसामु लाचार हुँदै भनिन्, ‘म महाराजसँग विवाह गर्न तयार छु, तर मेरो एउटा सर्त छ।’

उनले अगाडि भनिन्, ‘हजुरले मेरो कोखबाट जन्मिने छोरालाई गद्दीको उत्तराधिकारी बनाउँदै युवराज घोषित गर्नुपर्छ।’

अधिक मोहमा परेका राजाहरू कस्ता–कस्ता बाचा कबुल्न सक्छन् भन्ने त रामायणमा राजा दशरथ र महाभारतमा राजा शान्तनुको घटनाले नै छर्लंग पार्छ।

अयोध्याका राजा दशरथ रानी कैकेयीको मोहकै कारण रामजस्ता पुत्रलाई १४ वर्ष वनवास पठाउन तयार भए। हस्तिनापुरका राजा शान्तनुले पनि सत्यवतीको मायामा चुर्लुम्म डुबेर आफ्ना सुरवीर पुत्र भीष्मलाई गद्दीबाट विमुख पारिदिए।

रणबहादुर पनि के कम!

उनी कान्तवतीको सर्त मान्न तयार भए।

उता दरबारभित्र रणबहादुरकी जेठी महारानी राजराजेश्वरी र माइली रानी सुवर्णप्रभाबीच ‘सौतेनी’ कचकच चल्दै थियो। राजराजेश्वरीका तर्फबाट एउटी छोरी मात्र थिइन् भने रानी सुवर्णप्रभाका दुई छोरा थिए। दरबारको रीतअनुसार सुवर्णप्रभाका जेठा छोरा राजकुमार रणोद्योत शाह नै गद्दीका उत्तराधिकारी हुने तय थियो। यसले राजराजेश्वरी डाहले जलेर खरानी भइरहेकी थिइन्।

यसबीच रणबहादुरकी कान्छी रानीका रूपमा कान्तवतीको प्रवेशपछि उनको मनमा सुवर्णप्रभालाई गिराउने आस पलायो। उनी पनि रणोद्योत शाहको सट्टा कान्तवतीबाट जन्मिने भावी छोरालाई नै युवराज बनाउने योजनामा लागिपरिन्।

नभन्दै विक्रम सम्बत् १८५४ असार १९ गते रानी कान्तवतीले राजकुमार गिर्वाणयुद्ध विक्रम शाहलाई जन्म दिइन्।

गिर्वाणको जन्मपछि काठमाडौं दरबारमा हर्षबढाइँ भयो। सुवर्णप्रभालाई छाडेर सबै खुसी थिए। राजराजेश्वरी र कान्तवतीको त खुसीको सीमै रहेन।

छ महिनाभित्रै रणबहादुर शाहले आफ्नो बाचाअनुसार गिर्वाणयुद्धलाई ‘युवराज’ घोषित गरेर गद्दीका उत्तराधिकारी बनाए।

त्यही बेला यस्तो घटना भयो, जसले काठमाडौंका जनताको जीवनमा उथलपुथल ल्यायो।

मध्यकालमा संसारभरि करोडौं मान्छेको ज्यान लिएको बिफर रोगले नेपाल पनि आक्रान्त थियो। यहाँ विभिन्न कालखण्डमा बिफरको महामारी फैलिएको इतिहास छ।

यही महामारीको डरले काठमाडौं उपत्यकामा ‘शितला माजू’ को खुब पूजाअर्चना हुन्थ्यो। यज्ञमा आहुती दिएपछि बचेको चिसो भष्मबाट प्रकट भएको मानिने शितला माजूले बिफर लगायत महामारीबाट बचाउँछिन् भन्ने जनविश्वास थियो।

राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको बिफरकै कारण मृत्यु भएको मानिन्छ। यिनै छोराको मृत्युशोकमा डुबेकी रानीको मन भुलाउन प्रताप मल्लले विक्रम सम्बत् १७२७ मा रानीपोखरी निर्माण गराएको भनाइ छ।

गिर्वाणयुद्धको जन्मलगत्तै फेरि एकचोटि काठमाडौंमा बिफरको महामारी फैलियो। थुप्रै मानिसको मृत्यु भयो। कयौंले अनुहारभरि दाग लिएर जीवन बिताउनुपर्‍यो।

महामारीको मारले नाबालक युवराज गिर्वाणयुद्धलाई पनि छोला भनेर रणबहादुर आत्तिए।

‘सन्की’ स्वभावका उनले आफ्ना भाइभारदारलाई दरबारको सभाकक्षमा डाकेर आदेश दिए, ‘काठमाडौं उपत्यकाभित्र बिफर नलागेका सम्पूर्ण केटाकेटीलाई परिवारसहित चार भञ्ज्याङ कटाउनू।’

राजाको यस्तो आदेशले हल्लीखल्ली मच्चियो।

सैनिकहरूले जनताको घर–घरमा छिरेर बिफर नलागेका बालबच्चा खोजी–खोजी तिनका परिवारलाई उपत्यकाबाट खेद्न थाले।

हामीले यसबारे मदन पुरस्कार विजेता संस्कृतिविद् हरिराम जोशीसँग कुरा गरेका थियौं।

उनका अनुसार, रणबहादुर शाहले उपत्यकाभरि बिफर नलागेका १२–१३ वर्षसम्मका बालबच्चाको खोजी गराएका थिए। थोरै जनसंख्या भएको त्यो समय त्यस्ता केटाकेटी खोज्नु ठूलो कुरा थिएन।

‘विगतमा व्यापार र पृथ्वीनारायण शाहको प्रवेशपछि राजनीतिक कारणले काठमाडौंका नेवार बसाइँ सरेका थिए,’ ८५ वर्षीय संस्कृतिविद् जोशी भन्छन्, ‘रणबहादुरको पालामा आएर महामारी आतंकले पनि नेवारहरूको ठूलो समूहलाई पैतृक थातथलो छाड्न बाध्य पार्‍यो।’

काठमाडौं उपत्यकाबाट नेवारहरूको बसाइसराइँ इतिहास हेर्ने हो भने १८५४ को उक्त घटनालाई ‘महत्वपूर्ण अध्याय’ मान्नुपर्ने जोशीको भनाइ छ।

यहाँ रणबहादुर शाहले किन ‘बिफर नलागेका’ बालबच्चा नै निष्कासन गरे भन्ने प्रश्न उठ्न सक्छ।

बिफर भनेको ‘कोभिड–१९’ जस्तै भाइरस संक्रमणबाट फैलिने प्राणघातक रोग थियो। वैज्ञानिकहरूका अनुसार अहिलेसम्म हामीलाई बिरामी पार्ने मोटामोटी दुई सय भाइरस पहिचान भएका छन्। तीमध्ये जम्मा एउटा भाइरसलाई चिकित्सा विज्ञानले पराजित गरेको छ, त्यो हो– बिफर।

हाम्रो शरीरमा भाइरसले हमला गरेपछि त्योसँग लड्ने ‘एन्टिबडी’ विकास हुन्छ। एकचोटि भाइरस लागेर निको भएको व्यक्तिलाई फेरि–फेरि त्यही भाइरसले छुँदैन वा छोए पनि गम्भीर बिरामी पार्दैन। यो कुरा मध्यकालको बिफर महामारी बेला नै स्थापित भइसकेको थियो।

अमेरिकाका चिकित्सक तथा मेडिकल अनुसन्धाता सिद्धार्थ मुखर्जीले हालै ‘न्यूयोर्कर’ मा लेखेका छन्– ‘सन् ११०० सम्म चीनका स्वास्थ्यकर्मी के विश्वास गर्थे भने, जो मान्छे बिफर लागेर पनि मर्दैन, उसलाई अर्को रोगले छुन सक्दैन। उनीहरू बिफरमा बाँचेकाहरूको सूची राख्थे। अर्कोचोटि महामारी फैलिँदा उपचारको जिम्मा सूचीमा नाउँ परेकाहरूको हुन्थ्यो।’

यही अवधारणा काठमाडौंमा पनि प्रचलित रहेको रणबहादुर शाहको उक्त आदेशबाट संकेत पाइन्छ।

बिफर लागिसकेका केटाकेटीमा फेरि संक्रमणको खतरा थिएन। तर, जसलाई उक्त रोगले छोएको थिएन, उनीहरू संक्रमित हुनसक्ने उच्च जोखिममा पर्थे। त्यही भएर रणबहादुरले देश निकाला गर्दा ‘बिफर नलागेका’ केटाकेटी छाने। सायद तिनलाई बाहिर पठाउँदा काठमाडौंमा थप महामारी नफैलिने र आफ्नो छोरा जोगिएला भन्ने उनको आस थियो।

कतिपय इतिहासकारले बिफर नलागेका ती बालबालिकालाई काठमाडौंबाहिर पठाएर रणबहादुरले महामारीबाट बचाउन खोजेका हुन् भनेका छन्।

तर, यो महामारी काठमाडौंमा मात्र थिएन। उनीहरू जहाँ गए पनि रोगबाट बच्ने सम्भावना विरलै थियो। यसबाट रणबहादुरको मुख्य ध्येय आफ्नै छोरालाई जोगाउने थियो भन्ने देखिन्छ।

‘अहिले जसरी कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेको छ, शारीरिक दुरी कायम राख्नू र नियमित साबुनपानीले हात धुनू भनेको छ, त्यस्तै त्यति बेला बिफर नलागेका बालबालिकालाई देश निकाला गरिएको थियो,’ संस्कृतिविद् जोशी भन्छन्।

उनका अनुसार, काठमाडौंबाट निकालिएका परिवार लालाबाला बोकेर भक्तपुर, बनेपा, दोलालघाट हुँदै तामाकोशी र भोटेकोशी तरेर पूर्वी क्षेत्रमा बसाइँ सरेका थिए। कतिपय परिवार मर्स्याङ्दी तरेर पश्चिम पनि गए, उनी भन्छन्, ‘एउटा बच्चा पिठ्यूँमा बोकेर, अर्कोलाई काखमा च्यापेर, अनि कतिलाई डोर्‍याउँदै उनीहरूले पहाडको कठिन बाटो लामो यात्रा तय गरे।’

जोशी अगाडि भन्छन्, ‘यस क्रममा थुप्रै बालबच्चा बाटोमै बिरामी परे। कतिको मृत्यु भयो। मर्नेहरूलाई बाटोमा गाडेर वा खोलामा बगाएर उनीहरू शोकाकूल हुँदै हिँड्थे।’

‘सन्की’ राजाको आदेशले देश छाड्न बाध्य काठमाडौंका नेवारहरूको पीडा एउटा पुरानो लोकगीतमा विस्तृत वर्णन गरिएको पाइन्छ।

नेवार भाषाको उक्त लोकगीत बेलायती लेखक सिगफ्रायड लेनहार्डको सन् १९७४ मा प्रकाशित ‘सङ्स अफ नेपालः एन एन्थोलोजी अफ नेवार फोक सङ्स एन्ड हिम्स’ मा संकलित छ।

संस्कृति र इतिहासमा गहिरो रुचि राख्ने पोखराका सुनील उलकले उक्त लोकगीत नेपालीमा अनुवाद गरेका छन्। उलकसँग काठमाडौं, पोखरा लगायत देशका विभिन्न ठाउँका पुराना तस्बिरको राम्रो संकलन छ। हामीले उलकको उक्त अनुवाद उनकै अनुमतिमा यहाँ प्रकाशित गरेका छौं, जुन यस्तो छः

शितला माजू,
हेर्नुहोस् प्रजाको कस्तो दु:खको हालत,
नसुनेको नदेखेको बिफर नलागेको बच्चा राख्न नपाउने
महाराजको हुकुम आयो यस्तो।

नायखिँ बजाएर सिपाहीले घेरेर साना बच्चाहरू निकालिए
खानलाई च्यूरा लिई, बच्चालाई पिठ्यूँ बाँधेर
जानुपर्‍यो तामाकोशीपारि,
एउटा बच्चा पिठ्यूँ बोकी अर्को बच्चा कम्मरमा बाँधी
अर्को बच्चा हातले डोर्‍याउँदै।

काठमाडौंबाट निस्किएर भक्तपुरमा बास बसे,
तलेजू माताको दर्शन गरी
भक्तपुरबाट फेरि बनेपामा बास बसे,
चन्डेश्वरी दर्शन गरी
बनेपाबाट हिँडेर पलाञ्चोकमा बास बसे,
भगवती दर्शन गरी
पलाञ्चोकबाट हिँडे दोलालघाटमा बास बसे,
भिमसेनको दर्शन गरी
दोलालघाटबाट हिँडी तामाकोशी बास बसे,
अझै जानुछ तामाकोशीपारि,
दोलालघाटबाट तामाकोशीपारि पुगे
महादेवको दर्शन गरे।

खानलाई केही छैन, लगाउने कपडा छैन
बस्नलाई बास छैन,
लट्ठी होइन, कोर्रा होइन
सिस्नो मुठोले हानी हानी
सिपाहीले घेरेर ल्यायो।

हे बिफर दिने कछला माजू,
त्यसमा पानी भर्ने शितला माजू,
जीवन लिने बछला माजू,
बच्चा यदि बाँचे भने
एक जोडी परेवा उडाउँला
सुनचाँदीको फूल चढाउँला।

अचानक बच्चालाई चिसो लाग्यो
घाम नभएको त्यो ठाउँमा,
बच्चाको जीवन लग्यो
आमाबाबु छाती पिटी रोए,
मरेको बच्चा जलाउन नपाउने
मरेको बच्चा गाड्न नपाउने।

है दैव कस्तो सजाय यो,
एकातिर आमाले समाए,
अर्कोतिर बाबाले समाए,
मरेको बच्चा तामाकोशी खसालिदिए।

गोरखा राजालाई बिन्ती गर्छु
कस्तो सजाय तिमीले दियौ,
गोरखा देशबाट आएर
नेपाल राज्यका राजा भएका
क्षत्रपति श्री रणबहादुर तिम्रा कारणले
जनताले दु:ख पाए।

हे शितला माजू,
लाख लाख बिन्ती गर्छु
लोकको उद्धार गर्नू।

यो नेवार लोकगीतको संकलन ब्रिटिस लाइब्रेरी र लोकबाजा संग्रहालयले राखेको छ। हामीले उनीहरूकै अनुमतिमा उक्त लोकगीतको अडिओ यहाँ समावेश गरेका छौं। अडिओ सुन्न तल क्लिक गर्नुहोस्ः

मध्यकालीन काठमाडौंमा ‘बिफर निको पार्ने देवी’ का रूपमा पुजिने शितला माजूबारे हेमराज शाक्यको पुस्तक ‘श्री स्वयम्भू महाचैत्य’ मा पनि वर्णन छ। काठमाडौंका नेवारलाई निष्कासित गरिएको तिथि भने यसमा अलि फरक परेको छ। उक्त घटना विक्रम सम्बत् १८५८ को जेठ–असार महिनातिर भएको उनले लेखेका छन्।

‘तःकै (बिफर) को प्रकोप बढेपछि रानी राजराजेश्वरीले पति रणबहादुर शाहलाई बालक गिर्वाणको सुरक्षा निम्ति केही उपाय लगाउन अनुरोध गरिन्,’ हेमराज लेख्छन्, ‘उनको त्यस्तो अनुरोधपछि रणबहादुरले १८५८ को जेठ–असारतिर भाइभारदार बोलाएर राज्यमा रहेका तःकै नलागेका सबै बच्चालाई निष्कासन गर्ने घोषणा गरेका थिए।’

यसरी छोराको सुस्वास्थ्यका नाममा जनतामाथि आतंक मच्चाउने रणबहादुर शाहले आफ्नै प्रिय कान्छी रानी कान्तवतीलाई भने बचाउन सकेनन्।

यही रोग लागेर विक्रम सम्बत् १८५६ कात्तिक १९ गते कान्तवतीको मृत्यु भएको संस्कृतिविद् जोशीको भनाइ छ।

यसमा अन्य इतिहासकारहरूको मत बाझिन्छ।

बाबुराम आचार्यले ‘नेपालको संक्षिप्त वृत्तान्त’ मा कान्तवतीको मृत्यु क्षयरोग लागेर भएको उल्लेख गरेका छन्। कान्तवतीलाई क्षयरोगले च्याप्दै लगेपछि रणबहादुरले थुप्रै ब्राह्मण, गुभाजू र बाँडाहरूद्वारा विभिन्न देवदेवीका पीठमा पूजा र अनुष्ठान गराएका थिए, जसमा लगभग एक लाख रुपैयाँ खर्च भएको आचार्यले लेखेका छन्।

रानीको असामयिक निधनपछि भावविह्वल रणबहादुर शाहले ‘बहुलठ्ठी’ हरकतहरू गरेको पनि इतिहासमा वर्णन छ।

उनले काठमाडौं, महांकालको भैरवको नाक काटेको संस्कृतिविद् जोशी बताउँछन्। पछि त्यो मूर्तिको नाक चाँदी राखेर जोडियो, उनी भन्छन्, ‘मूर्तिमा नाक काटिएको चिह्न अझै देखिन्छ।’

यति मात्र होइन, रणबहादुरले काठमाडौं उपत्यकामा भएका शितला माजूका धेरै मूर्ति नष्ट गरेका थिए। तलेजु भवानीलाई ‘मृत’ घोषित गर्दै शवयात्रा निकालिएको थियो, जसमा पुजारीलाई पछाडि–पछाडि रुँदै हिँड्न लगाइएको थियो। गुह्येश्वरीको कुण्डमा पनि बाँस हालेर विनाश गरेको जोशीको भनाइ छ।

हरेक महामारी ढिलोचाँडो अन्त्य हुन्छ। ढिलोचाँडो मान्छेमा त्यो रोगसँग लड्ने प्रतिरोधी क्षमता पनि विकास होला। तर, जुनसुकै महामारीले कहिल्यै नमेटिने सम्झना छाडेर जान्छ।

नेपालको इतिहासमा त्यस्तै एउटा नमीठो सम्झना बनेर बसेको छ, १८५४ को बिफर महामारी, जसको ठूलो मूल्य चुकाउनुपरेको थियो काठमाडौंका नेवारहरूले।

जुन छोरालाई बचाउन रणबहादुर शाहले काठमाडौंको नेवार समुदायमाथि यति ठूलो अन्याय गरे, आखिर त्यो छोरालाई पनि अल्पायूमै बिफरले लग्यो।

राजा गिर्वाणयुद्ध विक्रम शाहको विक्रम सम्बत् १८७३ मा बिफरकै कारण मृत्यु भयो। उनी जम्मा १९ वर्षका थिए।

 

सेतेपाटी डटकमबाट साभार