ह्वाङहो र याङसी नदीको मङ्गोल महासभ्यता

author-png  मिलन लिम्बू   शनिबार, २७ बैशाख, २०७७, दिउँसोको ०३:४७ बजे

– आहुति

नेपालमा प्रचलित भाषामा मङ्गोलियन उद्गमका जातिहरु जसलाई भनिन्छ उनीहरु आजको चीनको ह्वाङहो र याङसी नदीले विकसित गरेका मानव सभ्यताबाट विकसित भएर क्रमशः दक्षिणतिर सर्ने क्रममा तिब्बत हुँदै इतिहासको विभिन्न कालखण्डमा आजको नेपाली भूभागमा आवाद गर्न आइपुगेका हुन्। ह्वाङहो र याङसी नदीका आसपासमा विकसित सभ्यता संसारकै हजारौँ वर्षमा विकसित एउटा महासभ्यता भएको सबैले मानिआएको विषय हो। यस सभ्यताका मानिसको नाक थेप्चो, आँखा चिम्सा, कद होचो भनी सामान्यतया मानवशास्त्रमा बुझ्ने चलन छ।

यस उत्तरी समाजबाट कुन–कुन मितिमा कुन–कुन समूह कसरी आजको नेपाली भूभागमा आवाद हुन आइपुगे भन्ने तिथिमिति ठ्याक्कै किटेर भन्न सकिने अवस्था छैन। तर उपलब्ध सामग्रीहरु उनीहरुको भाषा, वंश–परम्परा, गोत्र–प्रणाली, श्रुति परम्परामा आधारित सृष्टिको कथा वा महायानी बौद्ध परम्परा र ल्होछारका रुपमा नयाँ वर्ष मनाउने प्रचलन जस्ता आधारभूत उत्तरी सभ्यतासँग मिल्ने विशेषताका कारण उनीहरु ह्वाङहो र याङसी महासभ्यताकै सन्तान हुन् भन्न कसैले पनि आनाकानी गरेको छैन।

यसको एउटा झुण्ड आजको नेपालको वागमती उपत्यकालाई छाडेर पश्चिमतिर नेपालको पहाडी खण्डमा फैलिँदै गएको देखिन्छ, जसले भेरी नदीवारिसम्मको पहाडी भूभागलाई समेट्छ। नदी सभ्यताका हिसाबले भन्ने हो भन्ने यसलाई गण्डकी सभ्यता पनि भन्न सकिन्छ, किनभने यस भूखण्डमा बग्ने सबै नदीहरु आजको चितवन–तनहुँ साँधको देवघाटमा कालीगण्डकीमा मिसिएपछि एउटै नदी बनेर बग्दछन्।

यसरी त्रिशूली नदीबाट पश्चिम र भेरी नदीबाट पूर्वको पहाडी भू–भागमा आवाद हुन आइपुगेको यो झुण्ड मूलतः दुई ओटा समुदाय राष्ट्रोन्मुख प्रवृत्तिसहित इतिहासमा अगाडि आएको देखिन्छ :- एक, मगर दुई, तमु वा गुरुङ। यसै झुण्डभित्रका तर कालान्तरमा जनसाङ्ख्यिक दृष्टिले थोरै भए पनि अलग भाषा र संस्कृतिसहितका अन्य जाति समूहहरु पनि यस क्षेत्रमा विकसित हुन पुगेको कुरा सजिलै बुझ्न सकिन्छ। यसरी हेर्दा ह्वाङहो र याङ्सी महासभ्यताबाट आएको एउटा झुण्डले त्रिशूली र भेरी नदीका बीचमा मुख्य दुई उपसभ्यताहरु निर्माण गर्न पुगे– मगर र तमु। साथै अन्य सभ्यताउन्मुख प्रवृत्ति बोकेका समूहहरु पनि बन्न पुगे। यो झुण्ड कहिले आजको नेपाल खण्डमा आयो ? ठोस प्रमाणिक उत्तर छैन।

हिन्दूकरणको प्रक्रियाले गर्दा यी दुवै उपसभ्यताका आफ्ना मौलिक चीजहरु गुमनाम हुन पुगेर पनि यस्तो अवस्था आएको हुन सक्छ। गुरुङले ल्होछार परम्परालाई बिर्सिनसकेको अवस्था हो भने मगरलाई त हिन्दुहरुले हिन्दु गोत्र नै दिइसक्न भ्याएको अवस्था हो। अन्य जनसाङ्ख्यिक दृष्टिले साना समूहहरुको पनि आधारभूत अवस्था मगर र गुरुङको भन्दा फरक देखिन्न।

ह्वाङहो र याङसी नदीमा विकसित महासभ्यताबाट दक्षिणतिर फैलिँदै आजको ‘किरात’ शब्दसँग मिल्दोजुल्दो तिब्बतको कुनै स्थानमा इतिहासको एक काल बिताएर आजको नेपाली भूभाग हुँदै गङ्गा मैदानसम्म विचरण गरेको अर्को समूह छ, जसलाई आज पनि सबैले किराती भनि बुझ्दछन्। किराँतीका रुपमा पहिचान भएको यो झुण्ड वागमती उपत्यकासहित पूर्वतिरको पहाडी भूभाग हुँदै सिक्किम–वर्मासम्म फैलिँदै गएर आवाद भएको प्रस्ट देखिन्छ। यो किरात सभ्यता आज मूलतः दुई ओटा राष्ट्रउन्मुख समुदायमा विभक्त छ :- एक, किरात (राई)। र दुई, लिम्बु। त्यसैगरी सुनुवार, जिरेल, याक्खा, धिमाल आदि जनसाङ्ख्यिक दृष्टिले साना समूहहरु छन्, जुन यसैभित्रका कालान्तारमा छुट्टै बन्न पुगेका समूहहरु हुन्। वागमती उपत्यकाको इतिहास किराती राजा यलम्बरबाट सुरु हुने विषयले किरातको नेपाल भूखण्डमा प्रवेश इस्वी सम्वत् सुरु हुनुभन्दा धेरै अगाडि भइसकेको प्रमाणित गर्दछ। सृष्टि–कथा मुन्दुम/मुन्धुमलाई मूल पृथक् मियो बनाएर विकसित यस झुण्डका मूल दुई शाखा किराती र लिम्बु कहिले कसरी छुट्न पुगे र अलग दुई ओटा उपसभ्यता बन्न पुगे भन्नेबारेमा लोकोक्तिबाहेक अरु सूचना भेटिँदैन।

एउटा लोककथाका अनुसार अरुण दोभानमा पुगेर कता जाने भन्नेमा विवाद हुँदा एउटा झुण्ड अरुणपारि लाग्यो र अर्को झुण्ड वारितिर लाग्यो। त्यहीँबाट किराती (राई) र लिम्बु अलग भए। यसलाई करिब २५ सय वर्षअगाडिको कुरा मानिन्छ। नदी सभ्यताका दृष्टिले भन्ने हो भने यो ‘कोशी’ र ‘वा’ सभ्यता हो। किराती सभ्यतामा नदीलाई कुशी र पानीलाई ‘वा’ले सम्बोधन गरिन्थ्यो। अहिले पनि जहाँसम्म किराती (राई) को मूल थलो छ, त्यहाँसम्मका नदीका नाम ‘कोशी’ र ‘खुवा’ प्रकारका छन् र जब लिम्बु क्षेत्र सुरु हुन्छ नदीका नाममा ‘वा’ शब्द आएकै हुन्छ। पछि नदीका नाम फटाफट हिन्दूकरण गरिएकाले लिम्बु क्षेत्रका नदीका नामका ‘वा’ शब्द छोपिन पुगेका छन्। जस्तै ताप्लेजुङको कावेली नदीको सङ्क्षिप्त नाम ‘काँवा’ थियो र तमोरको इम्बिरी यङघङ। नेवार भाषामा नदीलाई ‘खुसी’ भन्नु पनि त्यही किराती शब्दको नयाँ रुप हो।

उत्तरबाट दक्षिणतिर फैलिँदै तर चिमाल फूल फुल्ने लेकभन्दा माथि हिमाली भूभागलाई नै आफ्नो सभ्यताको भूभाग एउटा झुण्डले बनाएको देखिन्छ, जुन झुण्ड त्यस हिमाली उचाइमा बस्ने क्रममा फोक्सो नै शक्तिशाली बन्ने स्तरमा विकसित भएको छ। त्यो समूहलाई शेर्पा, भोटे आदि नाममा आजको नेपालमा चिनिन्छ। यो वास्तवमा विश्वमै एउटा दुर्लभ उचाइको सभ्यता हो। आज हेर्दा यो भोटे उपसभ्यता पूर्वदेखि पश्चिमसम्म छुट्टाछुट्टै अलगथलग रहेको जस्तो भान हुन्छ। तर, वास्तवमा त्यस्तो थिएन र होइन। यो भोटे हिमाली सभ्यतामा समुदायहरु पूर्वको ताप्लेजुङको हिमाली क्षेत्रदेखि पश्चिमको डोल्पासम्म नै व्यापारलगायतका सामाजिक सांस्कृतिक सम्बन्धमा थिए। त्यस क्षेत्रमा पूर्व–पश्चिमलाई जोड्ने बाटो नै थियो। उनीहरु एक–अर्कालाई पूर्वीया र पश्चिमाका नामले पनि चिनाउँथे।

पञ्चायतले उत्तर–दक्षिण काटेर जिल्ला र अञ्चलको राजनीतिक नक्सा र प्रशासनिक व्यवस्था गरेपछि यस उपसभ्यताको परम्परागत पूर्व–पश्चिमको आफ्नो संसर्ग बाध्यात्मक रुपमा टुट्ने क्रम तीव्र बनेको हो। ल्होछारमध्ये पनि ग्याल्बो ल्होछार अर्थात् राजकीय नयाँ वर्षसँग जोडिएको यो समुदाय नेपालको एक मात्र बोलीचालीमा थर भन्ने चलन नभएको उपसभ्यता हो। गोत्र र थर सबै मानव समाजमा जस्तै यस हिमाली समुदायमा पनि हुन्छन् नै। तर, जहिले पनि थर भनेर परिचय दिनुपर्ने प्रचलन यो समुदायमा थिएन। तेञ्जिङ नोर्गेले चोमोलुङ्मा (सगरमाथा) चढ्नुभन्दा पहिले शेर्पा भन्ने कुनै जाति नै थिएन। उनले सगरमाथा चढेर फर्केपछि स्वागत गर्न पुगेका त्यतिबेलाका विद्वान् बालकृष्ण समलगायतले परिचय सोध्दा तेञ्जिङ नोर्गेले आफ्नो परिचय आफ्नै परम्परामा थर नभनी केवल तेञ्जिङ नोर्गे बताए। तर, बालकृष्ण समहरुले ‘तेञ्जिङ, नोर्गे अनि के’ भनी सोधे। किनभने अरुको जस्तै तेञ्जिङ र नोर्गे शब्दलाई उनीहरुले पहिलो र मध्य नाम मात्रै बुझे।

त्यसपछि भोटे सभ्यतामा पूर्व–पश्चिमको फरक देखाउन परिचय बताउने चलनअनुसार तेञ्जिङले ‘म स्यार्पा’ भनी उत्तर दिए। अर्थात् उनको आशय थियो, भोटेहरुमध्ये म चाहिँ पूर्वीया हुँ। स्यार्पाको अर्थ पूर्वीया थियो । त्यसपछि विद्वानहरुले तेञ्जिङको थरकै रुपमा बालकृष्ण शमशेर भनेजस्तै तेञ्जिङ नोर्गे शेर्पा भनी लेखे। अनि क्रमशः शेर्पा एउटा गौरवमय परिचय, थर हुँदै सोलुखुम्बु क्षेत्रका भोटे समुदायले नै आफूलाई शेर्पा भन्ने वातावरण बन्यो। शेर्पा अन्तर्राष्ट्रियकरण भयो र एउटा भोटे उपसभ्यताभित्रको एउटा जाति नै बन्न पुग्यो। तर, यथार्थमा शेर्पा हिमाली भोटे उपसभ्यताको पूर्वको एउटा अंश मात्रै हो।

थारु, दनुवार र माझीजस्ता भित्री मधेशका समुदायलाई औलोका कीटाणुसँग विजय पाउन कति सय वर्ष लाग्यो होला, त्यसभन्दा कम वर्ष पक्कै पनि हिमाली भोटे उपसभ्यतालाई सबैभन्दा बढी उचाइमा पनि सहजै अक्सिजन तान्न सक्ने फोक्सो विकास गर्न लागेन भन्न सजिलै सकिन्छ। हिमाली भोटे सभ्यताको सुन्दर विकसित नमुना माथिल्लो मुस्ताङको राजतन्त्रसहितको समाज हाम्रो अगाडि छँदै छ :- अनि माथिल्लो मुस्ताङको गुफाभित्र भेटिएका मानव सभ्यताका हजारौँ वर्ष पुराना चित्रहरु दसीका रुपमा हाम्रा अगाडि उपस्थित छन्।

नेपाली समग्र समाजमा महिलाको स्थान सबैभन्दा बढी सम्मानित एवं शक्तिशाली अझै पनि महसुस गर्न सकिने यो उपसभ्यता मूलतः महायानी बौद्ध शाखासँग सम्बन्धित छ। यो हिमाली भोटे समुदाय तिब्बतबाट यात्रा सुरु गर्दा नै महायानी बौद्ध मत लिएर आयो या तिब्बतमा विकसित सो बौद्ध मतको शाखा उनीहरुको सभ्यतासम्म कसैले ल्याइपुर्यायो ? यो विषय अझै स्पष्ट छैन। तर, महायान बौद्ध शाखाको विकास बढीमा इसाको प्रथम शताब्दीसम्म भएको तर उनीहरुको फोक्सोको विशिष्ट विकासलाई त्यसभन्दा बढी समय सङ्घर्षमा लाग्ने जीववैज्ञानिक कारणलाई दाँज्दा महायानी बौद्ध परम्परा उनीहरुका बीच पछि नै आइपुगेको अनुमानसम्म लगाउन सकिने अवस्था छ। खोज अनुसन्धान जति बाँकी भए पनि के चाहिँ सजिलै भन्न सकिन्छ भने हिमाली भोटे समुदाय नेपालको एउटा विशिष्ट संसारकै माथिल्लो उचाइको एउटा उपसभ्यता नै थियो र हो।

उत्तरको हिमालको उचाइ पार गरेर वर्तमान नेपालको त्रिशूली नदी र तामाकोशी नदीका बिचको पहाडी भूभागमा आई आवाद गर्ने एउटा उपसभ्यता तामाङ हो। यो किराती वा गुरुङ–मगरभन्दा पछि नेपाली भूभागमा आइपुगेको देखिन्छ, किनभने यो समुदाय रहेको क्षेत्रमा ठुला नदीका नाम तामाङ भाषामा नभई किराती वा अन्य भाषामा छन्। महायान बौद्ध मतको यो समुदाय तिब्बतबाटै यस मतबाट प्रशिक्षित भई आएको देखिन्छ। यो राष्ट्रउन्मुख विशेषतासहितको उपसभ्यता हालको काभे्र र सिन्धुपाल्चोक जिल्लालाई केन्द्रबिन्दु बनाई फैलिएको प्रस्टै छ। तामाङ उपसभ्यताभित्र ह्योल्मो लगायतका जनसाङ्ख्यिक दृष्टिले सानो समूहहरु पनि रहेका छन्।

वास्तवमा चीनको ह्वाङहो र याङ्सी नदीको महासभ्यताबाट विकसित भई तिब्बत हुँदै आजको नेपाललमा आई मौलिक उपसभ्यता निर्माण गर्ने जनसाङख्यिक दृष्टिले समेत ठूलो आकारमा रहेको तामाङ सबैभन्दा पछि यो भूभागमा प्रवेश गर्ने झुण्ड हो। यो झुण्ड करीब इसाको पहिलोदेखि दोस्रो शताब्दीका बीचमा आइपुगेको देखिन्छ। यीबाहेक ह्वाङहो र याङसी नदीमा विकसित महासभ्यताबाट आजको नेपाल भूमिमा प्रवेश गर्ने अन्य समूह पनि छन्। तर तिनीहरुबारे थप अध्ययन आवश्यक छ। जेहोस्, नेपाल ह्वाङहो र याङसी नदीका वरपर विकसित महासभ्यताबाट विकसित भई आएर नेपाली भूमिलाई हजारौँ वर्षदेखि आवाद गर्ने, भाषा–संस्कृति र आर्थिक प्रणालीसहित राष्ट्रउन्मुख प्रवृत्ति बोकेका जातिहरुको प्रभावशाली उपस्थिति रहेको समाज हो भन्ने यथार्थ इतिहाससिद्ध अकाट्य तथ्य हो।

 

लेखक एवं वैज्ञानिक समाजवादी पार्टी नेपालका नेता आहुतिको दस्तावेजबाट महत्वपूर्ण अंश।

लाेकपाटी डटकमबाट साभार