अनुत्पादक साधनाको धुमिल संकेत

author-png  मिलन लिम्बू   शनिबार, २७ बैशाख, २०७७, दिउँसोको ०१:१३ बजे

पात्रबाटै चरित्र स्थापित हुन्छ । त्यसैले पात्रभन्दा चरित्रको चर्चा उचित हो । पात्र जो भए पनि चरित्र जो कोहीसँग मिल्न सक्छ । त्यसैले चरित्र चर्चा गर्न योग्य हुन्छ । आफु बाँचेको समयको चरित्र व्यख्या गर्न सबैभन्दा सहज हुनसक्छ । भोगाइसँग सम्बन्ध राख्ने विषयवस्तु हुनु नै सहजताको पक्ष हो ।

पूँजीवादी व्यवस्थाको प्रारम्भिक चरण मान्न सकिन्छ उपभोक्तावादी चरित्रलाई । व्याख्या गर्न खोजिएको त्यो चरित्र हो जुन चरित्र अनेक प्रयत्नमार्फत चाहेको वस्तु उपभोग गर्न तयार हुन्छ । समाजको यो वर्तमान चरित्र हो । जहाँ अस्वथ्य प्रतिस्पर्धा उपल्लो प्राथमिकतामा हुन्छ । जहाँ चामलभन्दा महंगो मुल्यमा पिठो बेच्न सक्ने सफल ठहरिनु अस्वभाविक होइन । राम्रो उत्पादनलाई राम्रै मुल्यमा बेच्ने परिकल्पा गर्नु गलत योजना सावित हुन्छ । तर, उत्पादन ‘झुर’ नै होस् आकर्षक विज्ञापनमार्फत आकर्षक मुल्यमै बेच्ने सफल ! समाजका हरेक चरित्रको स्वारूप उस्तै छ । आकर्षक विज्ञापनमा निर्भर मानसिकता आम समस्या बन्दैछ ।

समय र परिस्थितिबीच गज्जबको मेल । जस्तो–जस्तो परिस्थिति उस्तै–उस्तै समय ! परिस्थितिले समयलाई नियन्त्रण गर्छ र अनुकुलतामा ढाल्छ । भन्न चाहिँ भनिन्छ ः समयको खेल ! परिस्थितिजन्य नै मानौं सूचना र प्रविधिको विकास अकल्पनीय छ । उपभोक्तावादी मानसिकतालाई सूचना प्रविधिको बिकासले मलजल पुर्‍याउँछ । जहाँ निश्चित ठाउँबाट विश्वबजार आक्न सहज छ । हामी एउटा विन्दुबाट संसार आक्न प्रयत्नरत छौं । तर, विश्व आक्ने हाम्रो प्रयत्न उत्पादक वा सकारात्मक होइन अनुत्पादकतर्फ केन्द्रित छ । यो तर्कलाई पुष्टि गर्ने अनेक आधार छन् ।

गीत संगीत सिक्दै गरेका एक । जसका लागि पहिलो प्राथामिकता संगीत साधना र अध्ययन । साधना र संगीतबारे राम्रो अध्ययन गरे भविश्य अध्याँरो छैन । तर, साधना र अध्ययनमा भविश्य अन्धाकार देख्ने जमात बढ्दो छ । संगीत साधनामा दशकौं बिताएर कसैले बनाएको सत्ता उपभोग गर्ने चाहना संगीतका पछौटे बेर्नामा कति छिटो पलाउँछ आफैले पत्ता पाउँन सक्दैन । साधनाका अनेकौ अवरोह थेगेर देश विदेशका स्टेज उक्लेका अग्रज र आफुलाई एउटै उचाईमा देख्नु पछौटे बेर्नाको दोष नहुनसक्छ । किनकी, हाम्रो मानसिकताको आधारभूत विकासक्रम नै उपभोक्तावादी चरित्रबाट भएको छ । आकर्षक सत्ता उपभोग गर्ने हुटहुटीमा पछौटे बेर्नाको मन रेगिस्थानतर्फ हानिन्छ ! अब दिनको सुरुवात हुन्छ सामाजिक सञ्जालमा रेगिस्थान सम्बोधनबाट ।

रेगिस्थाने दाइहरूको इनबक्स वा च्याट पछौटे बेर्नाको संगीतमय सत्तामोहले भरिन्छ । पछौटे बेर्नाका लागि संगीतमा साधना गर्नुभन्दा रेगिस्थाने दाइलाई फकाउने साधना फलदायी हुने पक्कै छ ! रेगिस्थाने दाइको पीडा बेग्लै । पछौटे बेर्ना धान्दा धान्दै खाली हात फर्कनुपर्ने परिशेष कसो झल्दैनन् ? साधना, सुरताल वा गीत संगीतमा अध्ययन जे जस्तै भए पनि दुई चार गीत रेकर्ड गरेर आकर्षक विज्ञापन गरे पुग्यो । ज्यू हजुरी चल्दासम्म आकर्षक विज्ञापनमार्फत संगीतमय सत्ता उपभोग गर्न मद्दत पुग्छ । तर, कतिदिनसम्म टुंगो हुँदैन । उपभोक्तावादी मानसिकताको गुलाम बन्दै अनुत्पादक साधनामा निर्भर हुने भए आगामी दिन धमिल पक्कै छ । पात्र, गीत संगीत सिक्दै गरेका एक व्यक्ति भए तर चरित्र सबैको हो ।

एक युवा आफुलाई चलचित्र निर्देशकको कित्तामा उभ्याउन प्रयत्न गर्छ । तर, आवश्यक अध्ययन गर्दैन । एक्सनकट जानेकै भरमा निर्देशक बन्छ । सिक्दा सिक्दै निर्देशकको सत्ताभोग मोहमा चुर्लुम्मै डुब्छ । एक युवा आफुलाई प्रतिभायुक्त कलाकार बनाउन कला क्षेत्रको अध्ययन आवश्यक ठान्दैन । नवरस के हो ? सामान्य प्रश्नको जवाफ के होला ? बरू, छिनभरमै हिट हुने बाटो पहिल्याउछ । एक युवा आफुलाई सहित्यकारको रूपमा स्थापित गर्न सहित्य साधना आवश्यक ठान्दैन । आफ्नो उत्पादन नराम्रै भए पनि राम्रो भनिदिने जमात बनाएर साहित्यकार बन्नुछ । एक युवा राम्रो पत्रकार बन्नलाई पत्रकारिता अध्ययन गर्न आवश्यक ठान्दैन । पत्रकारिताको आधारभूत मुल्य मान्यता पनि थाहा छैन । तर, पत्रकार बन्नु छ । प्रेस लेखेको कार्ड भिरेर ठालू बन्नु छ । उहि ड्याङको मुला ! अर्थात पत्रकार पनि उपभोक्तावादी समाजकै उत्पादन न हो ! एक युवा राजनीतिक नेता । विचार वा सिद्धान्त फरक कुरा हुन । सत्ताभोग मोहको अगाडी राजनीतिक विचार र सिद्धान्त कयौं गुणा कमजोर हुन्छ नै । नेता बन्न जनताको मन जित्ने काम गर्नुपर्छ भन्ने मनोभाव नै छैन । अब बिचार गरौ उ कस्तो नेता बन्दै छ ? यस्तै यस्तै परिदृश्यले भविश्य धमिल देखिन्छ ।

अब स्वार्थहरू हावी भएका छन् । उपभोग गर्ने आकंक्षाहरूले आकाश छुन थालिसकेको छ । आकंक्षको अगाडी साधना मुख्य साधन हुनुपर्ने थियो । चाहनाहरूको अगाडी अध्ययन वा सिकाइ एकमात्र विकल्प बन्नुपर्ने थियो । परिस्थिति त्यस्तो बनेन । आकर्षक विज्ञापनको भरमा दुनियाँलाई भ्रममा पार्दै नराम्रो उत्पादनलाई राम्रो सावित गर्नुपर्ने परिस्थिति पक्कै राम्रो होइन । उपभोत्तावादी मानसिकताले परिस्थिति यस्तो बन्योः साधना गर्नेहरू ‘साधु’ र अध्ययन गर्नेहरू ‘स्वाठ’ बन्नुपर्ने बाध्यता बन्यो ! उपभोगवादीहरू अन्र्तय होइन आवरण विश्वास गर्नछन् । आवरण सुन्दरतामा मोहित हुन्छन् । आवरणमा लोभिएकाहरू अनाहकमै मुल्य तिर्न तयार हुन्छन् । जहाँ भोग्ने स्वार्थ प्रधान हुन्छ । साधकहरू आवरणमा होइन अन्र्तय विश्वास गर्न । आदर्शमा होइन व्यबहारमा भर पर्छन् । त्यसैले गुमनाम पनि छन् ।

उपभोक्तावादी मानसिकताको रिफ्लेक्सन आगामी दिनको मुख्य समस्या हो । क्षमता भएका तर उपभोग गर्ने अस्वस्थ्य होडमा आफुलाई उभ्याउन नचाहने जमात र क्षमता नभएका तर अस्वस्थ्य प्रतिस्पर्धाबाट सत्ताभोग गरेकाबीचको द्धन्द्धको प्रतिफल सकारात्मक हुन सक्दैन । त्यसको मतलव राम्रो उत्पादनमा गम्भीर प्रकृतिको संकट उत्पन्न हुनेछ । समाजको वर्तमान चरित्रले ‘अनुत्पादक साधनाको धुमिल संकेत’ गर्दछ ।